पछिल्लो १० दिनमा सुनको मूल्य प्रतितोला ९ हजार ३३ रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आइतबार प्रतितोला २ हजार ९३३ रुपैयाँले सुनको मूल्य बढेसँगै मूल्यले नयाँ कीर्तिमान कायम गरेको हो ।
महासंघकाअनुसार २६ फागुन यताको १० दिनमा सुनको मूल्य एक लाख एक हजार रुपैयाँबाट बढेर एक लाख १० हजार ३३ रुपैयाँ पुगेको हो । महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यकाअनुसार सुनको मूल्य अझै बढ्न सक्ने देखिन्छ ।
सम्भावित आर्थिक संकटमा बैंकको निक्षेप भन्दा सुनमा गरिने लगानी सुरक्षित हुने आर्थिक दृष्टिकोणका कारण लगानीकर्ता सुनमा आकर्षित भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले बताएका छन् । ठूला बैंकबाट नगद निक्षेप झिक्ने र सुन खरिद गर्ने क्रम बढ्दा मूल्य बढेको अनुमान गरिएको छ ।

१० दिनमा यस्तो रह्यो सुनको मूल्य वृद्धि
२६ फागुन २०७९ मा छापावाल सुनको मूल्य एक लाख एक हजार ८ सय रुपैयाँ थियो । २८ फागुनमा सो मूल्य बढेर एक लाख ३ हजार ५ सय रुपैयाँ कायम भयो । यस्तै २९ फागुनमा सुनको मूल्य एक लाख ४ हजार एक सय रुपैयाँ पुग्यो भने फागुन मसान्त अर्थात ३० फागुनमा सुनको मूल्य एक लाख ५ हजार ७ सय रुपैयाँ पुग्यो ।
एक चैतमा फगुन ३० कै मूल्य बराबर रहेको सुनको मूल्य २ चैतमा एक हजार रुपैयाँले बढेर एक लाख ६ हजार ७ सय रुपैयाँ पुग्यो । ३ चैतमा ४ सय रुपैयाँले बढेर सुनको मूल्य एक लाख ७ हजार एक सय रुपैयाँ पुग्यो । ५ चैतमा एकैदिन २ हजार ९३३ रुपैयाँले बढेर सुनको मूल्य एक लाख १० हजार ३३ रुपैयाँ कायम भएको हो ।





