भारतको उत्तरी राज्य उत्तराखण्डमा बिहीबार एउटा कार गहिरो खोल्सामा खस्दा कम्तीमा १० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

उत्तराखण्डको राजधानी देहरादुनबाट करिब ४४१ किलोमिटर पूर्वमा रहेको पिथौरागढ जिल्लाको मुनसियारी सहरमा सो दुर्घटना भएको हो।

‘बिहिबार चालकसहित १० जना चढेको एउटा कार पहाडी सडकबाट चिप्लिएर मुनसियारी क्षेत्रमा ६०० फिट गहिरो खाल्डोमा खसेको छ,’ पिथौरागढस्थित विपद् व्यवस्थापन कार्यालयका एक अधिकारीले भने। ‘गाडीभित्र रहेका नौ जना पुरुष र एक महिला गरी सबै जनाको मृत्यु भएको छ,’ उनले भने।

खाल्डोबाट सबै शव निकालिएको र उनीहरूलाई सम्बन्धित परिवारको जिम्मा लगाउने औपचारिकता पूरा भइरहेको ती अधिकारीले बताए।

अधिकारीहरुका अनुसार छिमेकी वागेश्वर जिल्लाका बासिन्दाका रूपमा पहिचान भएका ती व्यक्ति हिन्दू मन्दिरको दर्शन गर्न जाँदै थिए।

रातभरको भारी वर्षाका कारण उक्त सडक ठाउँठाउँमा पहिरोको माटो जम्मा भएको र यसका कारण सडक चिप्लो भई दुर्घटना भएको प्रारम्भिक अनुसन्धानपछि प्रहरीले बताएको छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here