काठमाडौं : नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी महिला टी–२० विश्वकपको एशिया छनोट प्रतियोगिताका लागि आज २४ खेलाडी छनोट गरेको छ।

मलेशियामा आयोजना हुने उक्त प्रतियोगितामा रुविना क्षेत्रीको कप्तानीमा क्यानले २४ खेलाडी छनोट गर्दै बन्द प्रशिक्षणमा बोलाएको हो। विश्वकपको एशिया छनोट आगामी अगष्ट २८ देखि सेप्टेम्बर ६ तारिखसम्म हुनेछ।

एशिया छनोटमा सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ।

जसमा नेपाल समूह ‘ए’ मा छ। नेपालको समूहमा आयोजक मलेशियासँगै भुटान, बहराइन, कतार र संयुक्त अरब इमिरेट्स (युएई) छन्।

समूह ‘बी’ मा कुवेत, चीन, हङकङ, म्यान्मार र थाइल्याण्ड छन्। आ–आफ्नो समूहमा शीर्ष दुई स्थान हासिल गर्ने टोलीले सेमिफाइनल खेल्नेछन्।

फाइनल पुग्ने २ राष्ट्रले भने बङ्गलादेशमा सन् २०२४ मा आयोजना हुने महिला विश्वकप प्रतियोगितामा स्थान पक्का गर्नेछन्।

छानिएका खेलाडीमा नेपाली टोलीमा कप्तान रुविनासहित सीता रानामगर, इन्दु बर्मा, अप्सरी बेगम, कविता कुँवर, कविता जोशी, अस्मिना कर्माचार्य, ईश्वरी विष्ट, कृतिका मरासिनी, बिन्दु रावल, नेरी थापा, काजोल श्रेष्ठ र सम्झना खड्का छन्।

सरस्वती चौधरी, स्नेहा महरा, सृष्टि जैशी, कञ्चन श्रेष्ठ, रोमा थापा, सवनम राई, पूजा महतो, खुसी डङ्गोल, मनिषा चौधरी, ज्योति पाण्डे र रुवि पोडार पनि छनोटमा परेका छन्।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here