१२ भदौ, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या ४७५ पुगेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार शुक्रबार बिहानसम्म विभिन्न जिल्लाबाट ४७५ जनाको शव फेला परेको हो।
प्रहरीका अनुसार रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा २७, चितवनमा १७९, गोरखामा ४४, तनहुँमा २८ र नवलपरासी पूर्वमा ११० जनाको शव फेला परेको छ।
सम्पर्कविहीन व्यक्तिहरूको खोज तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका ठूलो संख्यामा उद्धारकर्मी परिचालन गरिएको छ। प्रभावित नदी किनार तथा जोखिमपूर्ण क्षेत्रमा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
बाढीका कारण सडक, पुललगायतका भौतिक संरचनामा समेत ठूलो क्षति पुगेकाले उद्धार तथा राहत कार्यमा चुनौती देखिएको छ। शव फेला पर्ने क्रम जारी रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने प्रहरीले जनाएको छ।





