२६ साउन, काठमाडौं । भक्तपुरबाट प्रहरीले १५ लाख बराबर नक्कली नोट बरामद गरेको छ ।

प्रहरी वृत्त थानकोट र प्रहरी प्रभाग चाँगुनारायणको संयुक्त टोलीले चाँगुनारायण नगरपालिका-४ चाँगु बुढाथोकी गाउँबाट बिहीबार साँझ  १५ लाख बराबरको नेपाली नक्कली नोट बरामद गरेको हो ।

चाँगु बुढाथोकीगाउँस्थित ४० वर्षीय अर्जुन सुवेदीको डेरामा छापा मारी नक्कली नोट बरामद गरेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रहरीका अनुसार सुवेदीको डेरामा उक्त गिरोहले नक्कली नोट छाप्ने कार्य समेत गर्दै आएका थिए । प्रहरीले सो कोठाबाट कलर प्रिन्टर एक थान, कम्प्युटर एक थान, मोबाइल १२ थान र चार स्कुटरसमेत बरामद गरेको छ ।

प्रहरी टोलीले रुपैयाँसहित ९ जनालाई पक्राउसमेत गरेको छ । उनीहरू नक्कली नोट कारोबारमा संलग्न भएको आशंकामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–६ घर भई हाल काठमाडौँको मूलपानी बस्ने २१ वर्षीय मिलन भण्डारी, ३२ वर्षीय शिव भण्डारी र २३ वर्षीय श्रीकृष्ण भण्डारी तथा सुनकोसी गाउँपालिका घर भई काठमाडौँको पेप्सीकोला बस्ने २६ वर्षीय सुशील कार्की पक्राउ परेका छन् ।

यसैगरी नवलपरासीको सराबल गाउँपालिका–१ घर भई हाल काठमाडौँ बस्ने पार्वती नेपाली, गुल्मीको बडागाउँ गाउँपालिका–२ घर भई हाल काठमाडौँको सामाखुसी बस्ने २७ वर्षीय सागर आचार्य, अछाम घर भई हाल काठमाडौँको मातातीर्थ बस्ने २३ वर्षीय अर्जुन बुढा तथा झापा घर भई हाल काठमाडौँको समाखुसी बस्ने २४ वर्षीय युवराज राईलाई समेत प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here