काठमाडौं : उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले संघीय निजामती सेवा ऐनको मस्यौदा एक हप्ताभित्र संसदमा पेस गर्ने बताएका छन्। उपप्रधानमन्त्री खड्काले संघीयतासँग जोडिएका संघीय शिक्षा ऐन, संघीय प्रहरी ऐन लगायतका ऐनहरुको निर्माण कार्यलाई पनि सरकारले प्राथमिकता साथ अघि बढाएको दाबी गरे।

नेपाल निजामती कर्मचारी युनियन, केन्द्रिय कार्य समितिले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मुलुकको अर्थतन्त्रको सीमाभित्र रहेर कर्मचारीको माग सम्बोधन हुनेगरी सो ऐन ल्याउने आश्वासनसमेत दिए। उनले मुलुकको अर्थतन्त्रको सीमालाई ध्यानमा राखेर आफ्नो मागहरु राख्न कर्मचारीहरुलाई पनि पटकपटक सचेत गराए।

उपप्रधानमन्त्री खड्काले मुलुकमा विद्यमान समस्याहरु सरकार र सम्बन्धित पक्षको साझा समस्या भएकाले समाधानका लागि पनि दुवै पक्षबीच साझा पहल हुनुपर्ने आवश्यक्ता औंल्याए। उनले भने, ‘मुलुकको अर्थतन्त्रले धान्नेगरी जेजे गर्न सकिन्छ? त्यो गर्ने कुरामा सहमति भयो। त्यसैले राम्रो कुराले, सकारात्मक तरिकाले ऐन अगाडि बढेको छ। यो ऐन यही संसदमा दर्ता हुन्छ। हामीले त्यसलाई चाँडै नै सम्भवतः एक हप्ताभित्र संसदमा त्यो ऐन पुग्छ।’

उपप्रधानमन्त्री खड्काले मुलुकका अर्थतन्त्रले दिने अनुमतिको आधारमा कर्मचारीहरुलाई सेवा, सुविधा बढाउने कुरामा सरकारले कुनै पनि खालको कन्जुस्याइँ नगर्ने बताए। मुलुकको अर्थतन्त्र ओरालो लागेका बेला कर्मचारीहरुले पनि आफ्नो माग सरकारसमक्ष थुपार्न नमिल्ने उनको भनाइ थियो।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here