गण्डकी: स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा लगानी नबढाएसम्म नागरिकको लागि प्रभावकारी स्वास्थ्य सेवा सुनिश्चित गर्न नसकिने बताएका छन्।

पोखरामा बुकवर्म फाउण्डेशनद्वारा आयोजित १२औँ नेपाल साहित्य महोत्सवको ‘स्वास्थ्य सेवामा जनताको पहुँच’ विषयक बहस सत्रमा बोल्दै उनले नेपालमा जनसंख्याको तुलनामा अस्पताल र चिकित्सकको संख्या अपर्याप्त रहेको उल्लेख गरे।

“सेना, प्रहरी, निजामति सेवामा जनशक्ति बढिरहेको छ, तर स्वास्थ्य जस्तो अत्यावश्यक र संवेदनशील क्षेत्रमा जनशक्ति थपिन सकेको छैन,” मन्त्री पौडेलले भने, “स्वास्थ्य पूर्वाधार, जनशक्ति र उपकरणमा लगानी वृद्धि गर्न आवश्यक छ। नीतिगत र संवैधानिक घोषणाअनुसार कुल बजेटको ३० प्रतिशत स्वास्थ्य क्षेत्रमा छुट्याइनुपर्छ।”

उनका अनुसार स्रोतको सुनिश्चितता नगरी गरिएका घोषणाहरू कार्यान्वयनमा चुनौतीपूर्ण बनेका छन्। साथै, उनले स्वास्थ्य बीमा कार्यक्रममा देखिएको अनियमितता अन्त्य गर्दै यसलाई थप व्यवस्थित बनाउने प्रतिबद्धता जनाए।

मन्त्री पौडेलले छिट्टै ५०० नयाँ चिकित्सकका लागि दरबन्दी सिर्जना गरी परीक्षाका लागि विज्ञापन निकाल्ने तयारी भइरहेको जानकारी गराए।

सरकार गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवा प्रवाहमा प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले भने, “स्वास्थ्य प्रणालीमा व्यापक सुधार आवश्यक छ। नीतिगत व्यवस्था भए पनि स्रोत अभावका कारण कतिपय योजना व्यवहारिक रूपमा कार्यान्वयन हुन सकेका छैनन्। अब स्वास्थ्य क्षेत्रमा लगानी वृद्धि गरी दीर्घकालीन समाधान खोज्नुपर्छ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here