२७ असोज, काठमाडौं । टोखामा २५ करोडसहित पक्राउ परेका ट्रक चालक कुसाङ लामा पनि कारागारबाट फरार भएका छन् ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ घर भएका फुच्चे भनिने लामा जेन–जी आन्दोलनको क्रममा कारागारबाट भागेको खुलेको छ ।
सुन्धारास्थित केन्द्रीय कारागार (जगन्नाथदेवल) मा रहेका उनी २४ भदौको राति फरार भएका थिए । फरार भएको एक महिना बित्दा समेत न उनी कारागार फर्केका छन् न अहिलेसम्म पक्राउ नै परेका छन् ।
कारागार व्यवस्थापन विभागले आइतबार फरार कैदीहरुको सूची सार्वजनिक गरेको थियो । उक्त सूचीमा लामाको पनि नाम छ ।
४ चैत २०८१ मा टोखाबाट प्रहरीले उनले चलाएको ना ७ ख १६५२ नम्बरको ट्रकबाट युरो र डलर गरी २५ करोड रुपैयाँभन्दा बढी बरामद गरेको थियो । ट्रकका चालक लामा पनि पक्राउ परेका थिए ।
५००, २००, १०० दरका जम्मा १३ लाख ७५ हजार १५० यूरो र १०० र ५० दरका ३ लाख २० हजार ८५० डलर (तत्कालीन प्रचलित मूल्यअनुसार २५ करोड १९ लाख २४ हजार ९५० नेपाली रुपैयाँ), ट्रक र भरिया लामा पक्राउ परेका थिए ।