२७ असोज, काठमाडौं । उदयपुरको अधेरीमा गुडिरहेको कारमा अचानक आगलागी भएको छ ।
इलामबाट काठमाडौं आउँदै गरेको बा ९ च ८६६८ नम्बरको कार उदयपुरगढी गाउँपालिका-७ अधेरीमा सोमबार बिहान अचानक आगलागी भएको उदयपुरका डीएसपी केदारमान दोङले जानकारी दिए ।
गुडिरहेको कारमा अचानक लागेको आगोबाट कार जलेर पूर्णरूपमा क्षति पुगेको छ भने कारमा सवारी एक बालक सामान्य घाइते भएका छन् । घाइते हुनेमा ७ वर्षीय आरोन सेनचुरी रहेका छन् । आरोनलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुरमा लगिएको छ ।
आरोन कार चालक इलामको चुलाचुली गाउँपालिका-५ का ४२ वर्षीय प्रेमकुमार सेनचुरीका छोरा हुन् ।
कार चालक प्रेमसहित उनकी श्रीमती २७ वर्षीय अनिता सेन्चुरी र छोरा १४ वर्षीय आयुष सेनचुरी भने सकुशल रहेको डीएसपी दोङले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।