८ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले गरिमा चौधरीका आमा-बुबाको भिडियो गृह मन्त्रालयमा खिचिएकोप्रति आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उनले यस्तो कार्य बन्द गरिनु पर्ने बताएका छन् ।

‘गरिमा हत्याकाण्डको बारेमा जे भयो त्यसका बारेमा धेरै बोलिन । तर हामी सबै जनाले मनन गर्नुपर्ने चाहिँ के हो भने हामीले कस्तो समाज बनाइरहेका छौं ?’ उनले भनेका छन्, ‘जहाँ मृतकको बुबाआमाले धन्यवाद भनेको भिडियो मन्त्रालयमा खिचिन्छ । र कहीँ मेडिकल गर्दै गर्दा एउटा अक्युज्ड (आरोपित) ले बोलेको कुराहरूलाई सार्वजनिक तरिकाले पब्लिकमा राखिन्छ । यस्तो समाज बन्द गरिनुपर्छ ।’

प्रहरीका अनुसार साउन ३१ गते बिहान जितपुर सिमरा उपमहानगरपालिका-१  की तीन वर्षीया बालिका गरिमा चौधरी एकाएक घरबाटै हराएकी थिइन् ।

गरिमाकी आमा मानमतिले साढे ३ घण्टासम्म नदेखेपछि सिमरा र पथलैया प्रहरीलाई जानकारी गराएकी थिइन् ।  प्रहरीले खोज्छौं भन्ने जवाफ दिएका थिए । त्यसको पर्सिपल्ट बालिकाको शव फेला पर्‍यो ।

तीन वर्षीया बालिका घरबाटै हराएकी थिइन् । उनको शव तीन दिनपछि भेटिएपछि यो विषयमा संघीय सरकारले नै चासो देखायो ।

उनी गरिमाका बुवा मनोज चौधरी र आमा मानमती चौधरीलाई काठमाडौं बोलाइयो । उनीहरूसँग गृहमन्त्री सुधन गुरुङसहितको गृहमन्त्रालयको टोलीले र छलफल सुरु गरेको थियो ।  त्यसक्रममा सरकारले आफूहरूको कुरा सुनेको भनेर गरिमाकी बुवा मनोज चौधरीले सरकारको पहलकदमीप्रति खुसी व्यक्त गरेका थिए ।

आरोपितको भिडियो सार्वजनिक गरेमा पनि आपत्ति

साथै, रास्वपाका महामन्त्री आचार्यले आरोपितको भिडियो सार्वजनिक गरेमा पनि आपत्ति जनाएका छन् । गरिमाको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका आरोपित व्यक्तिको घटनाबारे बताएको भिडियो सार्वजनिक भएको छ । यसबारे महामन्त्री आचार्यले भनेका छन्, ‘एउटा अक्युज्ड (आरोपित)ले बोलेको कुराहरूलाई सार्वजनिक तरिकाले पब्लिकमा राखिन्छ । यस्तो समाज बन्द गरिनुपर्छ ।’

सार्वजनिक भिडियोमा आरोपीसँग सोधपुछ गरिएको दृश्य छ । हातमा हतकडी लगाइएका आरोपीसँग अस्पतालमा गरिएको सोधपुछको उक्त भिडिओ सार्वजनिक भएको हो ।

सार्वजनिक भिडियोमा हातमा हतकडी लगाइएका किशोरसँगै दुई जना प्रहरी समेत देखिएका छन् । यो भिडियो सार्वजनिक भएपछि प्रहरी प्रधान कार्यालय र मधेश प्रदेश प्रहरी कार्यालयले घटनाबारे चासो देखाएका हुन् । यही बेला रास्वपाका महामन्त्रीले समेत आपत्ति जनाएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here