खुकुरी प्रहारबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलास्थित हाँबुका ५९ वर्षीय मानबहादुर राईको मृत्यु भएको छ। घरायसी विवादका क्रममा ४३ वर्षीय भतिजा पत्थरमान राईले आज प्रहार गरेको खुकुरीले काका मानबहादुरको गर्दनमा लाग्दा घटनास्थलमै मृत्यु भएको हो।

मादक पदार्थले मातेर काकालाई खुकुरी प्रहार गर्ने पत्थरमानलाई पक्राउ गरी कानुनी कारबाही सुुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले जानकारी दिनुभयो।

घटनापछि पत्थरमानले काका मानबहादुरलाई खुकुरी प्रहार गरेर हत्या गरेको भन्दै रगताम्मे भएको खुकुरी बोकेर आफन्तलाई सुनाउँदै हिँडेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए।

मृतक काका र भतिजाको आँगन एउटै छ। घटना भने भतिजा पत्थरमानको घरको सिकुवामा भएको स्थानीय बासिन्दा एवं राष्ट्रिय भूमि आयोग खोटाङका अध्यक्ष सुरेशकुमार राईले बताउनुभयो।

परिवारका सदस्य बाहिर रहेका मृतक मानबहादुर घरमा एक्लै बस्दै आएका थिए। एक्लै भएको समयमा हत्या गरिएका मानबहादुरको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल लगेर राखिएको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here