काठमाडौं : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई बहुलाहा मेयर भनेका नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले आफू पनि काममा बहुला भएर लाग्ने बताएका छन्। मेयर साम्पाङलाई बहुलाहा भनेर विवादमा आएपछि रिमालले जवाफमा आफू काममा बहुला भएर लाग्ने गरेको स्पष्टीकरण दिएका छन्।
हो, अब हामी ‘बहुलाउनै’ पर्छ। अहिले धरानका मेयर, धरानेलाई पानी खुवाउन ‘बहुलाएर’ लागेका छन्। सबैलाई ‘श्रमदान गर भनिरहेका छन्। त्यसैले मैले पनि भनेको छु– ‘बहुला पाराले’ काम गर्ने। धरानमा थाहा छैन, तर बाहिर पपुलर मेयर,’ उनले भनेका छन्, ‘म पनि काम गर्ने मामिलामा ‘बहुलाउने’ मानिस हुँ। हो, मुलुकमा केही गर्न हामी अब ‘बहुलाउनै’ पर्ने भो ! फेरी पनि मेरो यो शब्द प्रयोगमा विभिन्न व्यक्तिहरूको असहमति देख्छु, सामाजिक सञ्जालमा आलोचना गरिरहेको देख्छु। म ति आलोचना स्वीकार्छु, धन्यवाद।’
उनले ०७२ सालमा संबिधान निर्माण गर्न आफूहरू ‘बहुलाएरै’ लागेको बताउँदै त्यसपछिको नाकाबन्दीको सामना गर्न तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली ‘बहुलाएरै’ भिडेको समेत बताएका छन्। जनताले साथ दिए, मुलुकले सफलता हासिल गर्यो। ०७४ को चुनावपछि हामी ‘बहुलाएरै’ काममा जोतिएका थियौं। आधा शताव्दीसम्म हाम्रो संप्रभुता बाहिर रहेको लिम्पियाधुरा, लिपुलेक, कालापानी। हामीले ‘बहुलाएरै’ नक्सामा सामेल गर्यौं। सिंगो मुलुक एक ठाउँमा उभियो,’ उपमहासचिव रिमालले भनेका छन्। उनले मेयर साम्पाङलाई ‘बौलाहा टाइपको मेयर’ भनेपछि विवादमा आएका थिए। त्यसपछि उनले आफ्नो बचाउ गर्दै यस्ताे स्पष्टीकरण दिएका हुन्।





