काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी स्वर्गीय सीता दाहालको स्मरणमा श्रद्धाञ्जली सभा गरिएको छ । गत असार २७ गते निधन भएकी स्व. दाहालको स्मरणमा मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा श्रद्धाञ्जली सभा गरिएको हो । श्रद्धाञ्जली सभामा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्ययाधीश हरिकृष्ण कार्की, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्वप्रधानमन्त्रीहरू, मन्त्रीहरू, प्रदेश प्रमुख र मुख्यमन्त्रीहरू, सांसदहरू, राजदूत तथा कुटनीतिक नियोगका प्रतिनिधिहरु लगायत शुभेच्छुक तथा शुभचिन्तकहरुको उपस्थिति रहेको थियो।
श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आफ्नो जीवनसंगिनीको उपचारमा संलग्न चिकित्सकहरुलाई धन्यवाद दिए। उनले स्व. दाहालको उपचार राज्यबाट कुनै सुविधा नलिइकन सबै खालको उपचार पद्धतिबाट गरिएको स्मरण गरे। उनले जीवनसंगिनी सीताले शान्त मृत्यु रोजेको उल्लेख गरे।
‘पछिल्ला वर्षहरूमा हामीले एक छोरी र छोरासहित दुई सन्तानको असामयिक र अकल्पनीय मृत्यु व्यहोर्यौं । शरीरले साथ दिएसम्म यो पीडामा उनी पनि दृढतापूर्वक उभिइ नै रहिन् । र त्यो पीडाको सामना गरिरहिन् । उनी बिरामी भएपछि राज्यबाट कुनै सुविधा नलिइकनै हामीले उपलब्ध र लाभदायी हुनसक्ने सबैखाले पद्धतिबाट उपचारको प्रयास पनि गरि नै रह्यौँ । उनी थला नै परेपछि उनको अन्तिम अवस्था दुःखदायी र कष्टप्रद हुन्छ कि भन्ने हामीलाई चिन्ता थियो । उनले भने, ‘अन्तिम अवस्थामा अस्पतालको आइसियु वा भेन्टीलेटरमा पीडादायी मृत्युवरण देख्नुपर्छ कि भन्ने हामीलाई चिन्ता थियो । तर बाँच्दासम्म अरूलाई पीडा दिन नजानेकी सीताले मृत्यु पनि निकै शान्त रोजिन् । साढे ७ बजे हामीले हस्पिटल लगेको झन्डै ८ः३० बजे उनी हामी सबैबाट बिदा भइन् ।’
प्रधानमन्त्री दाहालले अस्पतालदेखि पार्टी कार्यालय र आर्यघाटदेखि बालुवाटारसम्म स्व.सीता दाहालले पाएको सम्मान र श्रद्धाञ्जली उनको त्याग, तपस्या र बलिदानप्रति जनताको न्याय र सम्मान भएको आफूहरूले ठानेको उल्लेख गरे। उनले यस घडीमा पाएको जनअभिव्यक्ति र जनउभारले आफू र परिवालाई देश र जनताप्रति अझ ठूलो जिम्मेवारीबोध गराएको बताए।














