काठमाडौँ : काठमाडौं : ४ देश सम्मिलित महिला टी-२० अन्तरराष्ट्रिय शृंखलाको तेस्रो खेलमा नेपालले घरेलु टोली मलेसियासँग ६ विकेटले पराजित भएको छ।
हारका बाबजुद नेपालले फाइनलमा स्थान बनाउँदा आजको खेलमा विजयी भएको मलेशिया भने फाइनल पुग्न असफल भयो।
नेपाल, हङकङ र मलेसिया तीनै टोलीको अंक ४/४ रहे पनि नेट रनरेटका आधारमा अघि रहेको नेपाल शीर्ष र हङकङ दोस्रो स्थानमा रहँदै फाइनल प्रवेश गरेका हुन्।
नेपालको रन रेट ०.८५३४, हङकङको ०.१९२६ र मलेसियाको ०.००७१ रह्यो।
यसअघि नेपालले पहिलो खेलमा हङकङलाई ६ विकेट र दोस्रो खेलमा कुवेतलाई ३४ रनले पराजित गरेको थियो।
पहिलो खेलमा कुवेतलाई ८ विकेटले हराएको मलेसिया वर्षाले प्रभावित दोस्रो खेलमा हङकङसँग १० विकेटले पराजित भएको थियो।
बायोमास ओभलमा शुक्रबार सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको ८५ रनको लक्ष्य मलेसियाले १६ ओभरमा २ बलमा ४ विकेट गुमाउँदै भेट्टायो।
मलेसियाका लागि ऐन्ना हशिमले अविजित ३७ र माहिरा स्मालइलले २१ रन जोडे।
नेपालका लागि पूजा महतो, कविता जोशी र सीता राना मगरले १/१ विकेट लिए।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित १८ ओभरमा ७ विकेट गुमाउँदै ८३ रनको योगफल तयार पारेको थियो।
वर्षाका कारण खेललाई १८ ओभरमा झारिएको हो। डकवर्थ लेविस पद्धतिको आधारमा मलेसियाले ८५ रनको लक्ष्य प्राप्त गरेको थियो।
नेपालका लागि कप्तान रुबिना क्षेत्रीले २३, इन्दु बर्माले २० र काजल श्रेष्ठले १८ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
मलेसियाका लागि माहिरा स्माइल, ऐन्ना हशिम र नुर समादले समान दुई तथा ऐश्या फिर्दाजले एक विकेट लिए।
उपाधिका लागि नेपालले हङकङ तथा तेस्रो स्थानका लागि मलेसियाले कुवेतको सामना गर्नेछन्। दुवै खेल शनिबार हुनेछ।
आईसीसी महिला टी-२० विश्वकप एशिया क्षेत्र छनोटअघि नेपाल, मलेसिया, हङकङ र कुवेतले ४ देशसम्मिलित शृंखला खेलिरहेका छन्।





