१६ कात्तिक, मनाङ। लगातारको हिमपातका कारण यतिबेला मनाङको जनजीवन प्रभावित भएको छ । पर्यटकीय याममा तिलिचो ताल, थोराङ्ला भञ्ज्याङ, लार्के पास तथा मनास्लु पदयात्राका लागि जानेहरुको तालिका बिग्रिएको छ ।
हिउँले पदमार्ग पुरिएपछि यात्रा अघि बढाउन मुस्किल छ । यात्रा सहज बनाउने उद्देश्यले मनाङ जिल्ला प्रशासन, स्थानीय तह, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एकाई (एक्याप) मनाङ, पर्यटन व्यवसायीको संयुक्त सहमतिमा बाटो खुलाउने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले जानकारी दिए ।
उनले भने, ‘हिमपात भएपछि यात्रा प्रभावित भएको छ, बाटो खुलाउने प्रयास भइरहेको छ।’ अहिले मौसम खुल्दै गएकाले पथपदर्शक भएका पर्यटकलाई तिलिचोको बाटो बनाउँदै जान दिने निर्णय भएको उनले बताए ।
‘पथपदर्शकबिना आएका पर्यटकलाई माथिल्लो क्षेत्रतर्फ जान रोक लगाइएको छ’, प्रमुख जिल्ला अधिकारी पौड्यालले भने, ‘हिमपातपछि माथिल्लो क्षेत्रसँग सञ्चार हुन मुस्किल छ । जोखिमलाई मध्यनजर गरी पथपदर्शकबिना पदयात्रा रोक लगाइएको छ।’














