२५ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समानुपातिक उम्मेदवार सूची सच्याउन माग सो पार्टीका केही महिला नेतृहरूले आपत्ति जनाएका छन् ।
उनीहरूले शुक्रबार दिउँसो पार्टी केन्द्रीय कार्यालयमा पुगेर सूची सच्याउन दबाब दिएका थिए ।
सो क्रममा केहीबेर उनीहरूबीच चर्काचर्की पनि भएको थियो ।
महिला नेतृहरूले समानुपातिक सूचीमा देखिएको परिवारवाद र अवसरवादको अन्त्य गर्न माग गर्दै पार्टी कार्यालयमा विज्ञप्ति बुझाएका छन् । उनीहरूले कार्यालयमै अनशन समेत सुरु गरेको नेताहरूले बताएका छन् ।
समानुपातिक प्रणालीलाई सीमित व्यक्तिको पारिवारिक स्वार्थका लागि प्रयोग गरिएको आरोप उनीहरूको छ ।
पार्टी उपाध्यक्ष बुद्धिमान तामाङकी श्रीमती सरस्वती लामा र केन्द्रीय सदस्य खुश्बु ओलीको नाम समानुपातिक सूचीबाट हटाउनुपर्ने माग उनीहरूले राखेका छन् ।
विज्ञप्तिमा परिवारका सदस्य मात्रै समानुपातिकबाट तीनजना र गठबन्धनमार्फत थप एकजना अघि सारिएको उल्लेख गर्दै महिला नेतृहरूले आपत्ति जनाएका हुन् ।










