काठमाडौं: नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पद त्याग्न सुझाव दिएका छन्।

आइतबार धनुषामा आयोजित ‘जनतासँग माओवादी तराई-मधेश जागरण सभा’लाई सम्बोधन गर्दै उनले सरकारको काम कारबाही असफल रहेको भन्दै प्रधानमन्त्री ओलीलाई राजीनामा दिन आग्रह गरे। उनले सरकार सञ्चालनको मूल्यांकनमा प्रधानमन्त्री ओलीले उत्तीर्ण अंकसमेत ल्याउन नसकेको आरोप लगाए।

प्रचण्डले प्रधानमन्त्री ओलीले शिक्षकमाथि गाली गरेकोप्रति असन्तुष्टि व्यक्त गर्दै भने, “आफैँ अनुत्तीर्ण हुने अनि शिक्षकलाई गाली गर्ने?” उनले मन्त्रिपरिषद्को कार्यसम्पादन मूल्यांकनमा ओलीले मात्र २८ प्रतिशत अंक ल्याएको उल्लेख गर्दै प्रश्न गरे, “फेल भएपछि पनि पदमा बसिरहनु किन?”

उनले प्रधानमन्त्रीलाई स्वमूल्यांकन गर्न सुझाव दिँदै भने, “शिक्षकलाई गाली गर्न बन्द गरेर बरु आफैंलाई मूल्यांकन गर्नुहोस् र पद छोड्नुहोस्।”

प्रचण्डले थपे, “तपाईंले प्रधानमन्त्रीको हालैको भनाइ सुन्नुभएको होला। ४८ प्रतिशत मात्रै पास गराउने शिक्षकलाई के सुविधा भन्ने उहाँको तर्क छ। तर राज्यले शिक्षाका लागि उचित बजेट नदिने, व्यवस्थापन नगर्ने अनि उल्टै शिक्षक र कर्मचारीलाई गाली गर्ने? प्रधानमन्त्रीजी, तपाईंको मन्त्रिपरिषद्को कार्यसम्पादनमा तपाईं स्वयं २८ प्रतिशतमा हुनुहुन्छ। तपाईं त फेल हुनुभएको छ। किन पदमा टिकिरहनुभएको छ?”

उनले सरकारका अन्य मन्त्रीहरूको कार्यसम्पादन पनि कमजोर रहेको बताउँदै थपे, “तपाईंका मन्त्रीहरूमध्ये कसैको १८, कसैको २१ प्रतिशत अंक छ। तपाईंको २८ छ। यसरी फेल हुँदा पनि किन पदमा रहनुहुन्छ? जनताले तपाईंको नौटंकी हेरिरहेका छन्।”

साथै, उनले वर्तमान सरकारले केही महिनाभित्रै नेपाली नागरिकमाथि ३ खर्ब ऋणको बोझ थपेको आरोप लगाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here