काठमाडौं, २३ फागुन – अमेरिकी र युक्रेनी उच्च अधिकारीहरूबीच अर्को साता वार्ता हुने निश्चित भएको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीबार वक्तव्य जारी गर्दै दुई देशका अधिकारीहरूबीच चाँडै सार्थक छलफल हुने बताएका छन्।

‘युक्रेनी र अमेरिकी टोलीले फेरि काम सुरू गरेका छन्। अर्को साता महत्वपूर्ण वार्ता हुनेछ भन्नेमा आशावादी छौं,’ जेलेन्स्कीले भनेका छन्। उनले मंगलबार वार्ता हुने उल्लेख गरेका छन्।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्व दूत स्टिभ विटकफले ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै युक्रेनसँग वार्ताको पहल भइरहेको बताएका थिए।

‘वार्ताको तयारी हुँदैछ। सम्भवतः यो रियाद वा जेद्दामा हुनेछ,’ उनले भने, ‘वार्ताले शान्ति सम्झौता र प्रारम्भिक युद्धविरामको आधार तय गर्नेछ।’

विटकफका अनुसार ह्वाइट हाउसमा चर्काचर्की भएपछि जेलेन्स्कीले पठाएको पत्रले वार्ता पुनः सुरु गर्न महत्वपूर्ण भूमिका खेलेको थियो।

‘राष्ट्रपति जेलेन्स्कीले शान्तिको मार्गमा फर्कने चाहना देखाउनुभएको छ। उहाँले आत्माआलोचना गर्दै शान्ति प्रक्रियामा संलग्न हुने प्रतिबद्धता जनाउनुभएको छ,’ उनले भने।

विटकफले जेलेन्स्की खनिज सम्झौतामा हस्ताक्षर गर्न तयार रहेको पनि उल्लेख गरे।

जेलेन्स्कीले उक्त बैठकमा रूससँगका विभिन्न प्रतिबद्धताहरूलाई प्राथमिकता दिने बताएका छन्।

‘युक्रेनी जनता शान्ति चाहन्छन्, तर आफ्नै भूभाग गुमाएर होइन,’ उनले भने, ‘रूस साँच्चै युद्ध अन्त्य गर्न इच्छुक छ कि छैन भन्ने मूल प्रश्न हो।’

यसैबीच, ह्वाइट हाउसमा विवाद भएको ७२ घन्टाभित्रै ट्रम्पले युक्रेनलाई दिँदै आएको सैन्य सहायता अस्थायी रूपमा रोक्ने निर्णय गरेका छन्।

मंगलबार अमेरिकी संसदमा सम्बोधन गर्दै ट्रम्पले युक्रेनसँग सम्झौताका लागि आफू तयार रहेको उल्लेख गरेका थिए।

‘युक्रेनको सुरक्षा र खनिज सम्झौताबारे जुनसुकै बेला छलफल गर्न तयार छु। युक्रेनमा युक्रेनीहरुभन्दा बढी शान्ति अरू कसैले चाहँदैन। त्यसैले चाँडै वार्तामा बस्नुपर्छ भन्नेमा हामी सहमत छौं,’ ट्रम्पले कंग्रेसमा भनेका थिए।

उनले जेलेन्स्कीले अमेरिकाले युक्रेनको सार्वभौम सत्ता र स्वतन्त्रताको सुनिश्चितताका लागि गरेको सहयोगको प्रशंसा गरेको खुलासा गरे।

‘ट्रम्पको बलियो नेतृत्वसँग काम गर्न तयार रहेको कुरा जेलेन्स्कीले पत्रमा उल्लेख गरेका छन्। यस्तो पहल सराहनीय छ,’ ट्रम्पले थपे।

साथै, ट्रम्पले रूससँग पनि वार्ता गरिरहेको खुलासा गरे।

‘रूस पनि शान्तिका लागि तयार रहेको संकेत मिलिरहेको छ। यसभन्दा राम्रो के हुन सक्छ?’ उनले भने।

यसैक्रममा, युक्रेनी राष्ट्रपति जेलेन्स्कीका प्रमुख कर्मचारी एन्ड्री यर्मार्कले अमेरिकी राष्ट्रपति ट्रम्पका प्रमुख सुरक्षा सल्लाहकार माइकल वाल्जसँग बुधबार टेलिफोन वार्ता गरेका थिए।

टेलिफोन संवादपछि यर्मार्कले दुई देशका अधिकारीहरू चाँडै भेट्ने सहमति भएको जानकारी दिए।

‘हामीले सुरक्षा र द्विपक्षीय सम्बन्धका विषयमा विचार आदान–प्रदान गर्यौं। शान्ति स्थापनाका महत्त्वपूर्ण कदमहरूबारे छलफल गर्दै निकट भविष्यमा वार्ता गर्ने निर्णय गरेका छौं,’ उनले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here