१ असोज, रसुवा । भोटेकोशी नदीमा आएको बाढीपछि चिलिमे जलविद्युत् केन्द्रमा फसेका पाँच कर्मचारीको शव पहिचान गरी परिवारजनलाई हस्तान्तरण गरिएको छ।
मृत्यु हुनेमा इन्जिनियर सन्तोष पाण्डे, इलेक्ट्रिक सुपरभाइजर मीनराज मोक्तान, चौकीदार श्यामबहादुर थापामगर, तिलकबहादुर थापामगर र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी लाक्पा तामाङ रहेका छन्।
बुधबार सुरुङको बाहिरी भागदेखि करिब १५० मिटरभित्रको कन्ट्रोल रुम क्षेत्रमा शव फेला परेका थिए। नेपाली सेनाको हेलिकप्टरमार्फत शव नुवाकोट लगेर परिवारलाई बुझाइएको हो।
बाढीले चिलिमे केन्द्रका संरचनामा ठूलो क्षति पुर्याएको छ भने रसुवामा खोज, उद्धार, राहत तथा सम्भावित महामारी रोकथामका काम जारी छन्।





