सरकाले प्रत्येक वर्ष लिने अस्थिर कर नीतिका कारण स्वदेशी उत्पादनमूलक उद्योगहरू समस्यामा परेको सरोकारवालाहरूले बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको परिवर्तित राजस्व नीतिको उपभोक्तामा प्रभाव नामक अन्तरक्रियामा बोल्दै अस्थिर नीतिका कारण उत्पादनमूलक उद्योग समस्यामा परेको बताएका हुन् ।

कार्यक्रममा सहभागीहरूले सरकारले उद्योग प्रोत्साहन गर्ने नारासहित लिएका कर नीतिका कारण उद्योग समस्यामा पर्नुका साथै उपभोक्तालाई समेत राहत नमिलेको बताएका छन् । कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष प्रदीप श्रेष्ठले सरकारले गत वर्षको प्रतिस्थापन बजेटमार्फत लिएको नीतिले उपभोक्तालाई पनि फाइदा नपुगेको बताए । उनले सरकारले विलेट उद्योगका विरुद्ध लिएको नीतिका कारण राजस्वमा ८ अर्बको कमि आउनुका साथै फलामे डण्डीहरूको मूल्यमा समेत गिरावट नआएको बताए ।

उनले भने गत वर्षको प्रतिस्थापन विधेयक आउनुअघि डण्डीको मूल्य ७० रुपैयाँ थियो । तर, अहिले १२० रुपैयाँ पुगेको बताउँदै उनले यस स्पञ्ज आइरनमा कर छुट दिने सरकारी नीतिका कारणले सरकारको राजस्व गुम्नुबाहेक केही फाइदा नभएको उनको भनाइ छ । यस्तै, देशमा वार्षिक २० लाख टन डण्डी खपत हुने र उक्त परिमाणको कर छुट भएको उनको भनाइ छ ।

उद्योगी किरण शाखले स्पञ्ज आइरनबाट विलेट बनाउने उद्योगहरूलाई संरक्षण गर्ने सरकारी नीतिले २० वटा उद्योग संकटमा परेको बताए । उनले नेपालमा आयात हुने कृषिवस्तु उत्पादन गर्ने बीउ बिजन, रासायनिक मल, खाद्यान्न, तरकारी र औषधीजन्य वस्तुमा कर नलाग्ने गरेको र विलेटमा कर लाग्ने नीति सरकारले लिएको बताए ।

‘हामी विगत ९ महिनादेखि यसको विरोध गरिरहेका थियौं । तर, सरकारले आगामी आर्थिक वर्षमा पनि यही नीति कायम राख्यो र हामी झनै धरासायी बन्ने स्थितीमा पुग्यौं’, शाखले भने, ‘संसदीय समितिले यस क्षेत्रमा कायम भएको नयाँ व्यवस्था हटाउँदै पुरानै व्यवस्था लागू गर्न भनेको छ । यसको सुनुवाई हुन्छ होला ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here