काठमाडौं।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका कारण संघीयतामाथि नै प्रश्न उठिरहेको आरोप लगाएका छन्। शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले ओली नेतृत्वको सरकारले समयमा कानुन बनाएर नदिएका कारण स्थानीय र प्रदेस सरकारमाथि प्रश्न उठेको दाबी गरे।
कार्यक्रममा उनले राजनीति दल खोल्नु नाङ्लो पसल राख्नु जस्तो नभएको पनि बताए । नयाँ दल खोलेर परिवर्तन गर्छु भन्नेको हालत के छ भनेर प्रश्न गर्न सर्वसाधारणलाई आग्रह समेत गरेl
नेता सिंहले ट्रयाकबाट बाहिर गएको मुलुकलाई ट्रयाकमा ल्याउने काम कांग्रेस गठबन्धनको सरकारले गरिरहेको उल्लेख पनि गरे । आगामी निर्वाचनमा जितेर कांग्रेसले देशमा राजनीतिक स्थायित्व कायम गरी सम्पन्नताको अभियान सुरु गर्ने समेत बताए।
कार्यक्रममा उनले अहिलेको शिक्षा प्रणाली बेरोजगार उत्पादन गर्ने प्रणाली मात्रै भइरहेको पनि बताए । उनले भने, ‘शिक्षाको नीति र प्रणालीमा परिवर्तन गर्न जरुरी छ । शिक्षासँगै सिप दिने कामको विकास गर्न आवश्यक छ।’
नेता सिंहले हरेक वडा कार्यालयमा बोर्ड मात्रै नभइ व्यवस्थित स्वास्थ्य संस्थाको रुपमा विकास गर्नुपर्ने, देशभरका वडा कार्यालयका क्लिनिकहरूमा प्राथमिक उपचार गर्नेगरी कम्तिमा एक डाक्टर व्यवस्था गर्नु पर्ने पनि बताए।





