बुधबार बसेको वाणिज्य बैंकहरूको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घको बैठकले माघ महिनाका लागि बैंकहरूले एक दशमलव १३ प्रतिशत ब्याजदर घटाउने निर्णय गरेको सङ्घले जनाएको छ।

हाल वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपमा १२ दशमलव १३३ प्रतिशत र संस्थागततर्फ नौ दशमलव १३३ प्रतिशत ब्याज तोकेका छन्।

रेमिट्यान्स मुद्दति खातामा १५ दशमलव ३३३ प्रतिशतसम्म ब्याज रहेको छ। माघमा भने बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपमा ११ प्रतिशत र संस्थागततर्फ नौ प्रतिशत ब्याज तोकेका छन्। रेमिट्यान्स मुद्दति खातामा १२ प्रतिशत ब्याजदर तोक्नेछन्।

बैंकर्स सङ्घको अध्यक्षमा केसी

बैंकर्स सङ्घको अध्यक्षमा सुनिल केसी चयन हुनुभएको छ। एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृतमा केसी सर्वसम्मतरूपमा अध्यक्षमा चयन हुनुभएको हो।

बुधबार सम्पन्न विशेष साधारणसभाले नयाँ अध्यक्षमा केसीलाई सर्वसम्मतरूपमा चयन गरेको हो। यसअघि प्रमुख कार्यकारी अधिकृत केसी सङ्घको उपाध्यक्ष रहनुभएको थियो। यसअघिका अध्यक्ष अनिलकुमार उपाध्याय कृषि विकास बैंकबाट बाहिरिएसँगै सङ्घको अध्यक्ष पद खाली भएको थियो।

प्रमुख कार्यकारी अधिकृत कार्यकाल सकिएपछि सङ्घको अध्यक्ष पदसमेत स्वतः रिक्त रहने व्यवस्था रहेको छ। नयाँ कार्यसमितिअन्तर्गत बैंकर्स सङ्घको उपाध्यक्षमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला सर्वसम्मत चयन हुनुभएको छ।

यसैगरी सङ्घको कार्यकारी सदस्यमा लक्ष्मी बैंकका अजयविक्रम शाह, नेपाल एसबिआई बैंकका दीपककुमार दे, नेपाल बैंकका कृष्णबहादुर अधिकारी, एनआइसी एसिया बैंकका रोशनकुमार न्यौपाने, एभरेष्ट बैंकको सुदेश खालिङ र सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा हुनुहुन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here