मैले हिमाल चढेको बेला पश्चिमी मुलुकतिरबाट नेपाल जाने प्रचलन व्यापक थिएन । नेपालीले पश्चिमी मुलुकका गोरा मानिस निकै कम देखेका हुन्थे वा देखेकै हुन्थेनन् । गाउँलेहरू हामीलाई हेर्न आउँथे । यी कसरी सेता भए भनेर नजिकै आएर नियाल्थे र हाम्रो शरीर छाम्थे । हामी कस्ता मानिस हौं भन्ने उनीहरूमा कौतुहलता देखिन्थ्यो ।
हामी जहाँ पुगे पनि ‘लौ ! गोरो छाला भएका मानिसहरू आएका छन् रे, हेर्न जानुपर्छ’ भन्दै गाउँमा हल्लीखल्ली हुन्थ्यो । कोही चाहिँ अलि परैबाट लुकेर हेर्थे । जुन गाउँमा पुग्दा पनि गाउँलेहरू स्वागत गर्न आउँथे र दुवै हात जोडेर नमस्कार टक्राउँथे । बच्चाहरू चाहिँ हामीलाई देखेपछि दगुर्दै भाग्थे ।
एशियाली मुलुकका केही नक्साहरू त पाइन्थे । तिनमा नेपाल भन्ने नाम मात्रै उल्लेख हुन्थ्यो । नेपालभित्र के-के छ, कुन ठाउँ कता पर्छ र के हो भन्ने चाहिँ पूरै खाली हुन्थ्यो । हामीले पहिलो पल्ट नेपालको यात्रा गर्दा ठूला सडक थिएनन् । बस्ती पनि स-साना थिए । साना गोरेटा र झोलुङ्गे पुलहरू देखिन्थे । राजधानी काठमाडौंमै पनि गाडी थिएनन् ।





