काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य मोहन थापा अमेरिकाको इमिग्रेसन हिरासतमा परेका छन्। रास्वपाले यस विषयको पुष्टि गरेको छ।
रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले थापा अमेरिकाको इमिग्रेसन हिरासतमा रहेको जानकारी दिएका छन्। उनले भने, “रास्वपाका केन्द्रीय सदस्य मोहन थापा अमेरिकन इमिग्रेसनको हिरासतमा पर्नुभएको जानकारीमा आएको छ।”
झाका अनुसार, थापाले यसअघि नै व्यक्तिगत कानुनी प्रक्रियाहरू समाधान गर्नुपर्ने भन्दै पार्टीमा निवेदन दिएका थिए। उनले भने, “मोहन थापाले पहिले नै ‘आफूले केही व्यक्तिगत कानुनी प्रक्रियाहरू स्पष्ट गर्नुपर्ने भएकाले समाधान नभएसम्म केन्द्रीय सदस्यको जिम्मेवारीबाट बाहिर रहने’ भनी निवेदन दिएका थिए।”





