काठमाडौँ । जेनजी पुस्ताले भ्रष्टाचारको विरोधमा भदौ २३ गते सुरु गरेको आन्दोलनले मुलुक शून्यताको अवस्थामा पुगेको छ। देशको कार्यकारी प्रमुखले राजीनामा दिइसकेका छन् भने नयाँ सरकार गठनको प्रक्रिया सुरु हुन बाँकी छ ।
२३ गतेको आन्दोलनमा ठुलो मानवीय क्षति भएसँगै आक्रोशित समूहले २४ गते पनि आन्दोलनलाई निरन्तरता दिनु स्वाभाविक थियो, तर शासक वर्गको हठ, सुरक्षा संयन्त्रको सही परिचालन/निर्देशन नहुनु र युवा आक्रोशलाई सामान्य ठान्नुलगायतका कमजोरीले मुलुकले इतिहासकै गम्भीर क्षति भोग्नुर्यो ।
आन्दोलनका क्रममा भएको मानवीय क्षति अपूरणीय छ, भौतिक संरचनामा भएको क्षतिको लेखाजोखा नै छैन ।
मुलुक सञ्चालन गर्ने र सन्तुलन कायम गर्नुपर्ने प्रमुख अंगहरू कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाका भौतिक संरचना खरानी भएका छन् भने राज्यका महत्त्वपूर्ण तथ्य र तथ्यांक कति जले ? कति छन् ? यसै भन्न सक्ने अवस्था छैन ।
राज्यका प्रमुख अंगहरू नै ‘प्यारालाइज’ अवस्थामा छन् । यद्यपि, मंगलबार रातिदेखि तत्कालका लागि शान्ति सुरक्षाको जिम्मेवारी नेपाली सेनाले लिएको छ । बुधबारदेखि देशभर निषेधाज्ञा र कर्फ्यु आदेश जारी भइसकेको छ ।
युवाहरूले परिवर्तन चाहनु र त्यसका लागि आन्दोलन गर्नु स्वाभाविक थियो, उनीहरूका माग भ्रष्टाचार नियन्त्रण र पारदर्शीतालगायतका जायज नै थिए तर तिनै मागबाट सुरु भएको आन्दोलन भड्किन पुग्दा अकल्पनीय दुर्घटना हुन पुग्यो । जुन घटनाले कुनै पनि स्वाभिमानी नेपालीको मन शान्त हुन सकेको छैन ।
देश र समाज भयानक अस्थिरतामा रहेको अवस्थामा आवेश वा उत्तेजनामा आएर गरिने कुनै पनि निर्णयले फेरि पनि मुलुकलाई सही दिशा दिन सक्दैन भन्ने आत्मसात् गर्न जरुरी त छँदैछ, विकसित घटनाहरूलाई राम्रोसित विश्लषेण समेत गर्नुपर्ने अवस्था छ ।
खरानीबाट उठेर देशको पुनर्निर्माण गर्नुपर्ने बेलामा यो वा त्यो भन्नेभन्दा पनि नेपालको हित चिताउने सबै समुदाय, शक्तिसँगको समन्वयबाट सही निकास दिन सक्नुनै अहिलेको आवश्यकता हो ।
‘हिमाल, पहाड, तराई, सबै जातजाति र भाषाभाषीबिचको एकतालाई बलियो बनाउँदै देशभित्रको आन्तरिक सहमतिसहित संवैधानिक तथा लोकतान्त्रिक मूल्य, मान्यता अनुरूप निकास दिनेतर्फ ध्यान दिन जरुरी नै छ । यसक्रममा विश्व समुदायको मन जित्दै आर्थिक सहयोगका लागि अपिल गर्न सक्नुपर्छ । जबकि उनीहरूको मन जित्न विगतकै परम्परा र कार्यशैलीबाट सम्भव हुँदैन ।
हुन त समग्र परिस्थितिको अहिले नै समीक्षा गरिहाल्ने अवस्था नहोला तर परिस्थिति असामान्य भएको बेला सामान्य तरिकाबाटमात्रै सोचिए पनि प्रतिकूलतालाई अनुकूल अवस्था निर्माण गर्न कठिन हुनसक्छ । त्यसैले सेना, प्रहरी, कर्मचारी वा समग्रमा राज्यको मुख ताकेर बस्नुभन्दा पहिला सबैभन्दा पहिला नागरिकले आफ्नो भूमिका, कर्तव्यलाई बिर्सन मिल्दैन ।
दुई दिनको यो राजनीतिक तुफान आम जनतामा रहेको असन्तुष्टि, अविश्वास र निराशाको असंगठित र एक एकमुष्ट अभिव्यक्ति भएकोमा दुईमत रहेन । यसको सामान्य ज्ञान, सूचना र समाजको गतिशील स्पन्दन समयमै राज्य र नेतृत्वले बुझ्न नसक्नु नै आजको दुर्भाग्यपूर्ण स्थितिको उपज हो भन्ने प्रस्ट छ ।
शासकको अहंकार र सत्ता उन्मादको महासागरमा अरण्य रोदनले मात्रै केही हुँदैन । जेनजी पुस्ता नेपालको भविष्य हो । यो हिसांत्मक र विध्वंसकारी हुनै सक्दैन । कलिला बिद्यार्थीहरूमाथिको राज्यको नृशंस हत्याले समग्र असन्तुष्टि र अराजकता निम्त्याएको हो । कतिपय यस्ता राजनीतिक आन्दोलन र तुफानहरू बरदानका रूपमा पनि आएका हुनसक्छन् तर त्यसलाई चिनेर नागरिकको चासो र चाहाना अनि देशहितको पक्षमा परिणत गर्न सक्नुनै बुद्धिमता र अवको दीर्घकालीन निकास हुनसक्छ ।
आन्दोलनमा भएको अस्वाभाविक र अत्यधिक बल प्रयोग र त्यसकारणले भएको जनधनको ठुलो क्षति, सार्वजनिक सम्पत्ति, ऐतिहासिक सम्पदा नष्ट भए । कतिपयले जेनजी आन्दोलनको मौका छोपेर आफ्नो अभिष्टसमेत पूरा गरेका छन् । अराजकतापूर्ण गतिविधि, लुटपाटमा संलग्नहरूको पहिचान गरी तिनलाई कारबाहीको दायरामा ल्याउन पनि उत्तिकै जरुरी छ । साथै, भविष्यमा यस्ता दु:खद घटना नदोहोरिने वातावरण सुनिश्चित गर्नु हामी सबैको कर्तव्य हो ।
यसका लागि सबैले धैर्य र संयमता अपनाउन, समाजमा शान्ति, अमनचयन र सामाजिक सद्भावका लागि पहल र प्रयत्न जरुरी छ । समग्रमा विगतबाट शिक्षा लिँदै प्रतिकूल परिस्थितिलाई अनुकूल बनाउने र मुलुकको भविष्य भावी पुस्तालाई मार्गदर्शन गर्ने नीति र नेतृत्व अनि त्यही किसिमको भूमिकाको जरुरी देखिन्छ ।