१२ भदौ, काठमाडौं । स्वास्थ्य मन्त्रालयले विपद्को विषम परिस्थितिलाई मध्यनजर गर्दै अत्यावश्यक अवस्थाबाहेक बिदा नलिन स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीलाई निर्देशन दिएको छ।
मन्त्रालयको प्रशासन तथा व्यवस्थापन शाखाले शुक्रबार जारी गरेको निर्देशनमा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित क्षेत्रमा खोज, उद्धार, उपचार तथा राहतका काम भइरहेको जनाएको छ।
मन्त्रालयले आफू मातहतका सबै कर्मचारीलाई विपद् व्यवस्थापनमा आवश्यकताअनुसार परिचालन गर्न सकिने गरी विशेष कारण र अत्यावश्यक कामबाहेक बिदा तथा काज स्वीकृत नगर्न/नगराउन निर्देशन दिएको छ।
त्यस्तै, खोज, उद्धार तथा उपचारसँग सम्बन्धित निकायका प्रमुख, फोकल पर्सन र जिम्मेवार पदाधिकारीलाई सार्वजनिक बिदाको दिनमा समेत कार्यालयमा उपस्थित हुन भनिएको छ। अन्य कर्मचारीलाई पनि आवश्यक स्वास्थ्य सेवा प्रवाहका लागि तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।
अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई भने सार्वजनिक बिदाका दिनमा समेत बाढीपहिरो प्रभावित घाइतेहरूको उपचारका लागि आवश्यक व्यवस्था मिलाउन मन्त्रालयले अनुरोध गरेको छ।





