रसुवाको भोटेकोशी बाढीबाट घाइते भएकाहरूको उपचारका लागि नुवाकोटको विदुरस्थित चक्रदेवी अस्पतालमा इमर्जेन्सी मोडमा सेवा सञ्चालन गरिएको छ। बिहीबारसम्म २४ जना घाइते अस्पताल ल्याइएकामा ९ जनाको अवस्था गम्भीर भएपछि नेपाली सेनाको समन्वयमा हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ। अन्यको उपचार अस्पतालमै भइरहेको छ।
बाढीका कारण सडक, पुल र विद्युत् सेवा अवरुद्ध हुँदा उपचारमा कठिनाइ भएको छ। अस्पतालले पेट्रोलबाट चल्ने इन्भर्टरको सहायतामा सेवा दिइरहे पनि पेट्रोल अभाव र सीमित जनशक्ति मुख्य चुनौती बनेको छ। खोज तथा उद्धार तीव्र भइरहेकाले घाइतेको संख्या अझ बढ्न सक्ने अस्पतालले जनाएको छ।




